पोखरा, नयाँबजारस्थित क्षत्री समाज नेपालको भवन परिसरमा ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुर्गा माताको मन्दिर शनिबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ। मन्दिरमा दुर्गा मातासहित पाञ्चाङ्ग देवताका मूर्तिहरुको प्राण प्रतिष्ठा पनि सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले मन्दिरको उद्घाटन गर्दै समाजलाई गतिशील बनाउन र देशभरका क्षत्री समुदायलाई एकताबद्ध गर्न लागिपरेको बताए। उनले राज्यले समाजप्रति विभेद गर्दै आएको भन्दै समान हक अधिकारका लागि जागरण अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष थापाले पूर्व मेचीदेखि महाकालीसम्म देश दौडाहा कार्यक्रम सञ्चालन गर्ने योजना सुनाए।
कार्यक्रममा केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजलाई संगठित र सुदृढ बनाउन आगामी जेठसम्म सबै जिल्लामा सांगठानिक अभियान चलाउने घोषणा गरे। उनले मन्दिर निर्माणमा पूर्व अध्यक्ष पदम बहादुर कार्किको योगदानको स्मरण गर्दै उहाँकै नाममा स्मृति कोष स्थापना गरिने जानकारी दिए।
गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी अधिकारीले मन्दिर निर्माणले समाजिक, धार्मिक, र सांस्कृतिक एकताको उदाहरण प्रस्तुत गरेको बताउँदै राज्यले समाजका मागहरू पूरा नगरेकोप्रति ध्यानाकर्षण गराइन्।
क्षत्री समाज कास्कीकी उपाध्यक्ष अर्चना बस्नेतले मन्दिर निर्माणका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै मन्दिर निर्माणका लागि लागेको ३५ लाख रुपैयाँको लागत पूर्ण रूपमा चुक्ता भएको जानकारी दिइन्।
कार्यक्रम क्षत्री समाज कास्कीका अध्यक्ष दील बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष सन्दिप थापाले कार्यक्रम सञ्चालन गरेका थिए।