पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे जानकारी लिने र नयाँ प्रविधि अवलोकन गर्ने थलो बनेको छ।
पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की र नेपाल मोवाइल वितरक संघसँगको सहकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत समाहित गरेपछि मेलाले सूचना प्रविधिबारे जानकारी दिने र नयाँ सामग्री खरिद गर्ने अवसर प्रदान गरेको छ।
नेपाल मोवाइल वितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठका अनुसार मोवाइल एक्सपोमा ५० प्रतिशतसम्म छुट र किस्ताबन्दीमा मोवाइल खरिदको सुविधा उपलब्ध छ। मेलाको प्रवेश टिकटबाट हरेक दिन गोला प्रथामार्फत ५ जनालाई मोवाइल उपहार दिने व्यवस्था पनि गरिएको छ।
आयोजक संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको तेस्रो दिनमा १८ हजार जनाले अवलोकन गरेका छन्। “मेलाले उद्यमशिलता, सूचना प्रविधि, कृषि, हस्तकला, पर्यटन, स्वास्थ्य लगायत क्षेत्रको प्रवद्र्धन र व्यवसाय विस्तारको सम्भावना खोज्ने लक्ष्य राखेको छ,” उनले बताए। मेलामा सातवटै प्रदेशका हस्तकला, महिला उद्यमीका उत्पादन, जडीबुटी, कृषिजन्य उत्पादन र पुष्प प्रदर्शनी समेत समावेश छन्।
सांगीतिक कार्यक्रममा वरिष्ठ कलाकारहरुको प्रस्तुति मेलाको अर्को आकर्षण बनेको छ। शनिबार श्रीकृष्ण बम मल्ल, पार्वती गुरुङ लगायतका कलाकारले प्रस्तुति दिएका थिए भने आइतबार प्रजापति पराजुलीसहित अन्य चर्चित कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ।
मेला २०८१ माघ २० गतेसम्म सञ्चालन हुनेछ।