पोखरा–१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। संघीय सांसद जीवन परियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पोखरा–१० का वडाध्यक्ष राजेश गुरूङको उपस्थिती रहेको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संघीय सांसद जीवन परियारले विद्यालयले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै शिक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे। उनले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। वडाध्यक्ष राजेश गुरूङले विद्यालयले गरिरहेका कार्यको उच्च प्रशंसा गर्दै विद्यार्थीको उज्जवल भविष्य निर्माणमा स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी हाल नेपाल सरकारका उच्च ओहोदामा कार्यरत पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै अक्षयकोषदाताबाट विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गरिएको थियो। विद्यालयका निवर्तमान प्रधानाध्यापक वलराम गिरीलाई विशेष सम्मान प्रदान गरिएको कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल समीक्षा शर्मा र निर्जल कुमाललाई सम्मान गरियो। यसैगरी एसईई परीक्षामा गणित तथा अंग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याउने कृष्टा तिलिजा पुन र असिम सुनारलाई नगद सहित पुरस्कृत गरिएको थियो।
विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिवल, पुस्तक प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी लगायतका प्रदर्शनी आयोजना गरेका थिए। प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गरे। साथै, आविष्कार हस्पिटल र अमर फार्मेसीको विशेष सहयोगमा अभिभावकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको थियो।
यस अवसरमा विद्यार्थीहरूले विभिन्न कला र संस्कृति झल्किने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने पूर्व विद्यार्थीका तर्फबाट कृष्ण बहादुर कार्की र विद्यार्थी प्रतिनिधि सोनिया गुरूङले मन्तव्य राखेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक लक्ष्मीकान्त अधिकारीले राखेका थिए।
कार्यक्रम सञ्चालन शिक्षक ज्ञान बहादुर थापा, सहायक प्रधानाध्यापक कुशल लामिछाने र वासुदेव अधिकारीले संयुक्त रूपमा गरेका थिए।