पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन्। शनिबार सम्पन्न अभिभावक भेलामार्फत् तीन जना निर्वाचित भएका थिए, जसमा देवीप्रसाद सुवेदी, लक्ष्मी सुवेदी बराल, र लक्ष्मी रामदाम विजयी भए।
यसैगरी, जग्गादाताको तर्फबाट धिरजप्रसाद ढेवाजु चयन भए भने वडा कार्यालयको सिफारिसमा दीपक गुरुङ (माइला), माधवप्रसाद आचार्य, र बलबहादुर बराल सदस्य बने। विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनी सदस्य सचिवका रूपमा रहने भएका छन्।
निर्वाचित तथा मनोनीत सदस्यहरूको बैठकले गुरुङलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।
वि.सं. २००८ सालमा स्थापना भएको भद्रकाली माध्यमिक विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालय परिसरमै क्याम्पससमेत सञ्चालन हुँदै आएको छ।