पोखरा — यही स्ववियु निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पसले विद्यार्थीहरूलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेको छ। “एक मत परिवर्तनका लागि” भन्ने नारासहित सार्वजनिक अपिलमा नेविसंघले आफूलाई किन मतदान गर्नुपर्छ भन्ने स्पष्ट कारणहरू उल्लेख गरेको छ।
नेविसंघका अनुसार उनीहरूको नेतृत्वमा पृथ्वीनारायण क्याम्पसलाई देशकै उत्कृष्ट शैक्षिक थलो बनाउने प्रतिबद्धता लिइएको छ। “राजनीतिक कारणले कक्षा प्रभावित गर्ने विकृति अन्त्य गर्ने, शैक्षिक माफियाको षड्यन्त्र रोक्ने, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अनिवार्य गर्ने र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपलाई स्थायी रूपमा हटाउने” जस्ता लक्ष्य राख्दै विद्यार्थीहरूलाई नेविसंघलाई समर्थन गर्न आग्रह गरिएको छ।
त्यसैगरी, शैक्षिक प्रशासन सुधार, पुस्तकालय व्यवस्थापन, छात्रावासको नियमित सञ्चालन, आर्थिक पारदर्शिता, प्रयोगशाला र इ-लाइब्रेरीको सुरुवात जस्ता सुधारका प्रतिबद्धतासमेत सार्वजनिक गरिएका छन्।
स्ववियु निर्वाचनमा विद्यार्थीहरूको मतले क्याम्पसको भविष्य निर्धारण गर्ने भन्दै नेविसंघले “One Vote, Many Changes” अर्थात् “एक मत, धेरै परिवर्तन” को सन्देश दिएका छन्। अब विद्यार्थीहरूले कसलाई विश्वास गर्ने र को सही नेतृत्व गर्न सक्छ भन्ने निर्णय गर्ने समय आएको नेविसंघले जनाएको छ।