पोखरा — पोखरा महानगरपालिका–१७ स्थित विरौटामा भव्य रूपमा सञ्चालनमा रहेको श्री गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र जनसरोकारको महान उत्सवका रूपमा अघि बढिरहेको छ।
महायज्ञको विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै वडाध्यक्ष र प्रेस रजिस्टारजस्ता विशिष्ट व्यक्तित्वहरूको आत्मीय नाचगान र सहभागिताले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको छ।
महायज्ञको मूल समारोह प्रारम्भ हुनुभन्दा केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणवश स्थान परिवर्तन गरी पोखरा–१७ स्थित विरौटामा पुनः शुभारम्भ गरिएको हो। नयाँ स्थानमा बाराहीघाटमा विधिपूर्वक क्षमापूजन गर्दै महायज्ञको यात्रा आरम्भ गरिएको थियो।
कार्यक्रममा विशेष आकर्षणको केन्द्र वडाध्यक्ष राधिका शाही रहिन्, जसले भजन मण्डलीसँग रमाउँदै खुलेरै नाचेर जनमानसको मन जितेकी छन्। स्थानीयवासीले जनप्रतिनिधिको यस्तो सांस्कृतिक भावनालाई स्वागत गर्दै “नेता र जनताको सम्बन्ध अझ सुदृढ भएको” प्रतिक्रिया दिएका छन्।
त्यस्तै, गण्डकी प्रदेश सरकारका प्रेस रजिस्टार विमला भण्डारी पनि विभिन्न सांस्कृतिक प्रस्तुतिमा सहभागी भई आत्मीय ढंगले नाचगानमा रमाएकी थिइन्। सरकारी पदाधिकारीहरूको यस्तो उत्साही सहभागिताले महायज्ञमा थप उर्जा र सकारात्मक सन्देश प्रवाह गरेको सहभागिहरू बताउँछन्।
महायज्ञको व्यवस्थापनलाई अझ प्रभावशाली बनाउन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयं कार्यक्रम स्थलमा उपस्थित भई शुभकामना व्यक्त गर्दै सक्रिय सहभागिता जनाइरहेका छन्। उनले भने, “महायज्ञले धार्मिक मात्र होइन, सामाजिक एकता र सांस्कृतिक पहिचानको सुदृढीकरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।”
यस महायज्ञको विशेष पक्ष महिला नेतृत्व र सहभागिता हो। वडाध्यक्ष शाही र रजिस्टार भण्डारीको अग्रसरतासँगै स्थानीय महिलाहरू भजन, भण्डारा, पूजापाठ, तयारी र व्यवस्थापनमा अग्रपंक्तिमा देखिएका छन्।
महायज्ञ स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न गरिएको थियो। ४१ दिनसम्म हवन सञ्चालन हुने भएकाले घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन आयोजकले भक्तजनहरूलाई अनुरोध गरेका छन्।