पोखरा— क्षत्री महिला समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन गरिएको छ। मानव सेवाको पवित्र भावना बोकेको यस कार्यक्रममा समाजका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि थापाले समाजका महिलाहरूले रक्तदान जस्तो पुन्य कार्यमा सहभागिता जनाएकोमा आभार व्यक्त गर्दै भने, “यो धेरै ठूलो तीर्थ हो। यस्ता मानविय संवेदनासँग र स्वास्थ्यसँग जोडिएका विषयहरूमा कार्य गर्नु अत्यन्तै सराहनीय कुरा हो।”
नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरूले अग्रसर भई जीवन बचाउने अभियानमा सहभागिता जनाउनु अत्यन्त प्रेरणादायक भएको बताउँदै भनिन्, “६० वर्षको इतिहासमा कास्की रेडक्रसले पहिलोपटक महिला नेतृत्व पाएको छ। महिलाहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा गर्व लागेको छ।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ राख्नका लागि रक्तदान अनिवार्य रहेको बताउँदै सबैलाई नियमित रुपमा रक्तदान गर्न आह्वान गरे। उनले भने, “म हरेक तीन महिनामा रक्तदान गर्छु, तपाईंहरू पनि गर्नुहोस्। यसले आफैं पनि स्वस्थ रहन सकिन्छ र अरुको जीवन बचाउन सकिन्छ।”
कार्यक्रममा सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले रगतको महत्त्वबारे जनाउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम सचिव माया भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने उपाध्यक्ष अर्चना बस्नेतले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन्। कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो।