रामेश्वरी माध्यमिक विद्यालयले एक विशेष समारोहको आयोजना गर्दै सल्लाहकारहरूलाई स्वागत र सम्मान गर्नुका साथै शैक्षिक वर्ष ८० /८१ का वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङ रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य माननीय नन्दकला नेपाली तथा विशेष अतिथिकै रूपमा पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा विद्यालय सल्लाहकारहरूलाई फूलमालाले सम्मान गरिएको थियो। सो अवसरमा सल्लाहकारहरूको बहुमूल्य सल्लाहहरू लिइएका थिए। चियापान पश्चात दोस्रो चरणमा छात्रछात्राहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेवापत पुरस्कार वितरण गरिएको थियो।
प्रमुख अतिथि गुरुङ्गले विद्यालयले लिएको बालबालिकाको सर्वाङ्गीण विकासको लक्ष्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै खेलकुद सामग्री प्रदान गर्नुका साथै आगामी दिनमा पनि आवश्यकतानुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। विशिष्ट अतिथि नेपालीले विद्यालय सुधारका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउँदै प्रदेश सरकार सधैं सकारात्मक भूमिका निर्वाह गर्न तत्पर रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा प्रतिनिधि एवं विद्यालय व्यवस्थापन समिति सदस्य तनुजा थापा सिके ले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष गिर बहादुर सारुले विद्यालयका वर्तमान चुनौतीहरूबारे जानकारी गराउँदै अभिभावकहरू पनि सचेत रहेको धारणा राख्नुभयो।
राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस वडा सभापति दिवस कुँवर र नेकपा एमाले वडा कमिटी अध्यक्ष बटुकृष्ण कुँवरले विद्यालयप्रति आफ्नो र पार्टीको समर्थन तथा सुझाव प्रस्तुत गर्नुभयो।
कार्यक्रममा बाबुनानीहरूको सांस्कृतिक नृत्य, स्काउट टोलीको प्रस्तुति, तथा कक्षा १० का विद्यार्थी दीपशिखा विष्ट र मन्दिप सुवेदीद्वारा अंग्रेजीमा भाषण गरेा थिए ।
विद्यालयका प्रधानाध्यापकले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष बोधराज बरालले अभिभावक, शिक्षक, सरोकारवाला सबैसँग सहकार्य गर्दै विद्यालयको गुणस्तरीय सुधारतर्फ अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो। साथै, कार्यक्रम सफल बनाउन खटिएका व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो।