पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको २२ औं स्थापना दिवस अवसरमा आइतबार पोखरामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भयो ।
चलचित्र एवं रंग पत्रकारितामा क्रियाशील पत्रकारको साझा संस्थाको रुपमा कास्की पहिलो शाखा हो । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको स्थापना भएको हो । हाल यहाँ करिब ५५ सदस्य रहेको संघका सचिव सन्तोष बस्यालले बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा कलाकार एवं फिल्म निर्देशक माओत्से गुरुङले आउन लागेको चलचित्र ऐनमा कतिपय विषयमा त्रुटि रहेको भन्दै संशोधन सहित पारित हुनुपर्नेमा जोड दिए ।
अर्का कलाकार प्रकाश घिमिरेले कुनै फिल्मको कारोबारलाई मात्र मूल्यांकनको आधार बनाइनु नहुने भन्दै फिल्मले दिने सन्देशलाई पनि ध्यान दिनुपर्ने बताए । उनले संघको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले पोखरामा एउटै बिटमा रहेर पत्रकारिता गर्नु सम्भव नभएको उल्लेख गरे । उनले पत्रकारको हकहितमा महासंघले काम गर्दै आएको दाबी गरे ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालले चलचित्र पत्रकारिताको विकासमा चलचित्रसम्बन्धी गतिविधि पनि उत्तिकै हुनुपर्नेमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्था स्थापना के–कसरी भयो भन्नेबारेमा जानकारी दिए । संघमा अब नयाँ नेतृत्वले यसको बिरासतलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा संघका सदस्यहरु विजय नेपाल, राजाराम पौडेल, विष्णुप्रसाद सापकोटा लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन सचिव सन्तोष बस्याल र स्वागत सदस्य सुरेश सुनारले गरे ।
स्थापना दिवसमा केकसमेत काटिएर शुभकामना साटासाट गरिएको थियो ।