पोखरा, श्रावण ११ — नेपाल डेण्टल एसोसिएशन (NDA), कास्की शाखाको २०८२–८४ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्षमा डा. सुदिप गिरी निर्वाचित हुनुभएको छ। गत श्रावण १० गते सम्पन्न निर्वाचनपछि भाद्र १ गते नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. पुरन विश्वकर्मा, महासचिवमा डा. आशीष कुँवर सिंह, कोषाध्यक्षमा डा. नीता थापा केसी, सह–सचिवमा डा. सन्ध्या पौडेल बराल तथा सदस्यहरूमा डा. अनुपा वाग्ले, डा. अनुप ओझा, डा. पवन पाठक र डा. अन्जल जिसी चयन भएका छन्।
कार्यभार ग्रहणपछि अध्यक्ष डा. गिरीले दन्त चिकित्सकहरूबीच आपसी सम्बन्ध, एकता र भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, तालिम र निरन्तर दन्त शिक्षासम्बन्धी कार्यक्रम (CDE) हरू सञ्चालन गरी चिकित्सकहरूको सीप अभिवृद्धि गरिने, सेवा प्रदान गर्ने गुणस्तर सुधार गरिने र दन्त उपचारमा पहुँच बढाइने योजना सार्वजनिक गर्नुभयो।

अध्यक्ष गिरीले दर्ता प्राप्त दन्त चिकित्सकबाहेक अन्य व्यक्तिबाट गरिने अवैधानिक ‘कुट–चिकित्सा’ (quackery) विरुद्ध कठोर कदम चालिने बताए। त्यसका लागि केन्द्रिय नेपाल डेण्टल एसोसिएशन, नेपाल मेडिकल काउन्सिल, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।
नयाँ नेतृत्वले दन्त चिकित्सकहरूको हक, हित र मर्यादा संरक्षणका साथै जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखेको छ।