२०८२ साल भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा क्षति पुगेका नेपाली कांग्रेसका शीर्ष नेताहरुको निवास आज नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य प्रकाशमान सिंह र केन्द्रीय सदस्य दीपक खड्काको निवास पुगेर क्षति अवलोकन गरिएको हो ।

यस क्रममा अध्यक्ष गुरुङले उपचारमा रहनुभएका सभापति देउवा र डा. आरजु राणाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै आन्दोलनकै क्रममा मृत्यु हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको पनि शुभकामना गर्नुभयो ।

तरुण दलका केन्द्रीय सदस्यहरु र आम तरुण युवाहरुको साथमा भएको अवलोकन कार्यक्रमका क्रममा अध्यक्ष गुरुङले वर्तमान विषम परिस्थितिमा तरुणहरुले धैर्य धारण गर्दै एकता र संयमता सहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, जेन्जी पुस्ताले राखेका मागमा सरकारले ध्यान दिनु पर्ने र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउँदै उहाँले आन्दोलन हिंसात्मक हुन नदिन र घुसपैठ हुन नसक्ने विषयमा सचेत रहन आग्रह गर्नुभएको छ । अध्यक्ष गुरुङले यसअघि नै विज्ञप्ति जारी गरेर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन अपिल गर्नुभएको थियो ।