नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या प्रयास गर्ने आक्रमणकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा तरुण दलले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले पार्टी सभापति देउवाको घर फोड्ने आक्रमणबारीहरूको बारेमा जानकारी आएको बताए । उनले ती आक्रमणकारीलाई तरुणहरूले नोटिसमा राखेको र तरुणहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
उनले भने, ‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा.आरजु राणाको घरभित्र छिरेर उहाँहरूको हत्या गर्ने प्रयास भएको छ । घर जलाइयो । केही मिडिया र सामाजिक सञ्जालमा अर्बौ रुपियाँ पैसा भेटियो भनेर गलत सूचनाहरू दिइयो । बदनाम गर्ने प्रयास गरियो । घर फोड्ने र हाम्रो सभापतिमाथि आक्रमण गर्ने आक्रमणकारीहरूलाई नेपाल तरुण दलले छोड्ने छैन साथीहरू ।’

अध्यक्ष गुरुङले भने, ‘जुनजुन जिल्लामा सरकारी कार्यालयहरू जलाइएको छ । हाम्रो पार्टी कार्यालय जलाइएको छ । नेताहरूको घर जलाइएको छ । जलाउने ती आक्रमणकारीहरूको सूचना स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिनुपर्छ । उनीहरू कुन पार्टीमा आवद्ध छन् ? सबै पत्ता लगाउन तरुणहरूलाई आग्रह गर्दछु ।’
तरुण अध्यक्ष गुरुङले जनताको संविधान ल्याउन नेताहरूले ठूलो बलिदान र लामो संघर्ष गरेको बताएका छन् । उनले भने, ‘संविधान ल्याउन हाम्रा नेताहरूले लामो संघर्ष गर्नुभएको छ । संविधान बनेको दिन देखि नै केही प्रतिगामीहरूलाई यो मन परेको छैन । नेपाली जनतालाई दास बनाउँदै आएको प्रतिगामीहरूले सधैँ यो संविधानको विरुद्धमा षड्यन्त्र गर्दै आइरहेका छन् ।’

उनले भने, ‘भदौ २३ गतेको जेनजी पुस्ताको आन्दोलनको माग भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा थियो । तर, आन्दोलनमा प्रतिगामीहरूको घुसपैठ भयो । हिंसात्मक भयो । भदौ २४ गतेको आन्दोलनबाट भौतिक संरचना जलाइए । सिंहदरबार जलेको छ । नेताहरूको घर जलेको छ । पार्टी कार्यालयहरू जलेका छन् । सरकारी कार्यालय र प्रहरी कार्यालयहरू जलेका छन् ।’
अध्यक्ष गुरुङले भने, ‘उचित समयमा तरुणहरू सडकमा उत्रिने छन् । यी घटनाहरूलाई तरुणले राम्रोसँग नियाली रहेको छ । घटनाका विषयमा विभिन्न पक्षसँग छलफल गरेका छौँ । भदौ २४ गतेको घटनापछि भदौँ २५ गते तरुण दल सडकमा आएको छ । फेरि पनि आउनेछ ।’

‘अहिलेको अवस्थामा निरास भएर हुँदैन । तत्कालीन अवस्थामा पार्टीको रक्षा गर्ने तरुण दल, रुखको रक्षा गर्ने तरुण दलले पार्टी सभापतिलाई आक्रमण हुने दिनमा हामीले रक्षा गर्न सकेका छैनौँ । हाम्रा लागि यो बिडम्बना हो,’ अध्यक्ष गुरुङले भनेका छन् ।

नेपाल तरुण दलले संविधान दिवसको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दीप प्रज्वलन गरेको छ । उल्लेख्य संख्यामा उपस्थित भएका तरुणहरूले संविधान र प्रजातन्त्रको रक्षाका लागि आवाज उठाएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत लगायतका नेताहरू उपस्थित रहेका थिए ।