गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) टर्कीले नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि रु. ७ लाख ५० हजार ३३७ आर्थिक सहयोग नेपाल पठाएको जनाएको छ।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम टर्कीमा रहेका नेपाली समुदाय तथा सहयोगी टर्किस नागरिकहरूको सहयोगबाट संकलन गरिएको हो।

एनआरएनए टर्कीले विपद्को कठिन परिस्थितिमा पीडितहरूको दुःखमा साथ दिन सहयोग गर्ने सम्पूर्ण नेपाली तथा टर्किस नागरिकप्रति हार्दिक आभार व्यक्त गरेको छ। सङ्घका अनुसार प्राप्त सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई राहत पुग्नाका साथै आवश्यक सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
यस अभियानअन्तर्गत संकलित सहयोग रकम तथा बैंक कारोबारसम्बन्धी विवरण पारदर्शिताका लागि एनआरएनए टर्कीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ। साथै सहयोगदाताहरूलाई उक्त विवरण अवलोकन गर्न अनुरोध गरिएको छ।
मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण नेपाली तथा टर्किस नागरिकप्रति पुनः धन्यवाद व्यक्त गर्दै सङ्घले पीडित परिवारहरूको घाउमा सहयोग मलम बन्ने विश्वास व्यक्त गरेको छ।

