पोखरा ÷ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् ।
विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत हुन् । विद्यालय उमेरबाटै नेविसंघको राजनितिमा सक्रिय नेपालीले निर्वाचित हुँदै कांग्रेसले यस पटक युवाहरुलाई अवसर दिएकोमा खुसी व्यक्त गरे ।
हिजोका दिनमा पार्टीले युवाहरुलाई नेतृत्वमा आउने वातावरण नबनाइराखेको अवस्थामा अहिले त्यसलाई परिवर्तन गर्दै युवाको पार्टी बनाउने तर्फ अघि बढ्नुले कांग्रेसमा थप नयाँ उर्जा थपिएको सुनाए ।

‘हिजो हामी विद्यार्थी आन्दोलनमा होम्मिदै गर्दा पार्टीको प्रतिनिधिदेखी नेतृत्व तहमा पुग्न निकै कठिन थियो । अझ हामी समावेशीबाट जानका लागि त झनै गाह्रो’ उनले भने, ‘अब कांग्रेस बदलिएको छ । समयसंगै सबै कुरा बदलिनुपर्छ । हिजो देशका लागि कांग्रेसले थुप्रै योगदान दियो अब भनको देश बनाउने हो ।’
नेपाली स्वर्गीय दलित अगुवा एवम् नेता भवे सार्कीका जेठा छोरा हुन् । बुबासंगै हात समाएर राजनितिमा लागेका नेपालीको बल्ल राजनैतिक यात्रा सुरु भएको छ ।
बुबाले नै आफुलाई विपि कोइरालाको अनुयायी बनाउन सिकाएको र इमान्दारले राजनिति गर्न सुनाएको उल्लेख गर्दै पार्टीलाई सक्दो योगदान दिने उनको प्रतिबद्धता छ । बदलिदो समाजमा विकासका नयाँ खाका कोर्न आफुजस्ता हजारौं युवा पार्टीको नेतृत्व पंक्तिमा पुगेको बताउँदै उनले पार्टीले बल्ल युवाको भावना बुझेको बताए ।

प्रदेश प्रतिनिधिको उम्मेदवार समेत रहेका नेपालीले गगन थापाले जुन आँट गरेर पार्टीमा विद्रोह गरे त्यसमा सबैले साथ दिनुनै आजको आवश्यकता रहेको सुनाए । “हिजो कांग्रसलाई एउटा आरोप थियो । पुरानालाई मात्रै अवसर दिने युवा भविष्यका कर्णधार हुन भनेर पन्छ्याइन्थ्यो तर आज समय फेरिएको छ । युवा भविष्यका कर्णधार होइनन् वर्तमानका सहयात्री हुन्’ उनले भने ।




