✍️ अनुष्का कुवँर
सेन्दाई, जापान – प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको नेतृत्वमा अनिल गिरी पुनः अध्यक्षमा चयन भएका छन्। आइतबार टल्क नेट सेन्दाई (सिटी सेन्टर)मा सम्पन्न दोस्रो अधिवेशनले गिरीलाई अध्यक्ष पदमा दोहोर्याएको हो।
पुनर्गठित कार्यसमितिमा उपाध्यक्ष सुरेश रावल, सचिव कपिलदत्त भट्ट, उपसचिव नवराज चौलागाईं र अप्सरा कुँवर ‘अनुष्का’ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा राम गिरि, गगन सापकोटा, राजेन्द्र मिश्र, अमृता अर्याल, अनिल गौतम, अनिश सापकोटा, अनुज गोदार र विकास मिश्र छन्।
अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा जापान इन्चार्ज सुरेश केसीले विदेशमा रहे पनि जन्मथलो नेपालप्रति माया र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई नेपाली भाषा, पहिरन र परम्परासँग जोड्नु अहिलेको आवश्यकता हो।”
विशेष अतिथि तथा प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले युवा पुस्तालाई आफ्नै पहिचानप्रति गौरवान्वित बन्न आग्रह गर्दै शिक्षा, व्यवसाय र अन्य क्षेत्रमा युवालाई प्रोत्साहित गर्न आवश्यक रहेको बताए।
नवनिर्वाचित अध्यक्ष अनिल गिरीले नेपाली समुदायको एकता नै सबैभन्दा ठूलो बल भएको औंल्याउँदै भाषिक, जातीय र सांस्कृतिक विविधताका बाबजुद समाज विकासका लागि एकताबद्ध हुनुपर्ने बताए। साथै, उनले वैदेशिक रोजगारीले सिर्जना गरेका मनोवैज्ञानिक चुनौतीहरू र आर्थिक समस्याहरू समाधान गर्न सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन सुरेश रावलले गरेका थिए।