पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले वडाभित्र चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेका कोही भए वडामा सम्पर्क गर्न आग्रह गरेका छन् । बुधबार विजया दशमी लगायतका चाडपर्वलक्षित गरेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चाडपर्व सबैको भएका कारण वडाभित्रकै वासिन्दा अथवा वडाभित्र भाडामा बस्ने कोही पनि चाडपर्वमा दुःखी नहोउन् र हर्षोल्लासका साथ चाडपर्व मनाउन सकुन् भनेर आर्थिक अवस्था कमजोर भएकाहरुलाई वडाले सहयोग गर्ने बताए । वडाध्यक्ष आचार्यले त्यस्ता परिवारलाई वडासँग सम्पर्कमा ल्याउनका लागि सहयोग गर्न टोलविकास समिति तथा आमासमुहहरुलाई समेत आग्रह गरेका छन् ।
यस्तै उनले चाडपर्वको अवसरमा उज्यालो वडा बनाउने भन्दै वडाभित्र विभिन्न ठाउँमा बत्ती जडान गरेको बताउँदै ती बत्तीहरु नबलेमा वा बिग्रिएमा वडामा खबर गरी मर्मतमा सहयोग गर्न आग्रह गरेका छन् । उनले चाडपर्वको अवसरमा घर र बाटोघाटो मात्रै सफा भएर नहुने र नकारात्मक कुरा हटाउनका लागि सबैभन्दा पहिला मनलाई सफा बनाउनुपर्ने बताए ।