पोखरा महानगरपालिका–१७ स्थित विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत आज एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमी पूजन र यज्ञ कुण्ड खनिने कार्य विधिपूर्वक सम्पन्न गरिएको छ।
यस महायज्ञका लागि अघिल्लो महिना २३ गते नै पूर्वनिर्धारित स्थानमा भूमी पूजन गरिए पनि विविध कारणवश स्थान परिवर्तन गर्नुपरेको थियो। पोखरा ६, लेकसाइडको बाराहीघाट क्षेत्रमा स्थान परिवर्तन भएपछि आज बिहान क्षमा पूजन विधिपूर्वक सम्पन्न गरिएको हो।
नयाँ स्थानमा महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११:०१ बजे, नेपाल पञ्चाङ्ग विकास समितिद्वारा निर्दिष्ट उत्तम साइतमा भूमी पूजन गरिएको हो। त्यसपछि ठीक ११:११ बजे विधिवत रूपमा यज्ञ कुण्ड खनिएको छ।
आजको विशेष कार्यक्रमको अवसरमा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ का अध्यक्ष राधिका शाही, स्थानीय सामाजिक संघसंस्था, आमा समूहका प्रतिनिधिहरू तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
श्री गण्डकी कोटिहोम महायज्ञलाई ऐतिहासिक तथा आध्यात्मिक महत्त्वका रूपमा लिइँदै आएको छ र यसले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता सुदृढ बनाउने अपेक्षा गरिएको छ।