नेपाल तरुण दल वडा नं. १४ का सभापति तथा लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय शैलेश बानियाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

३५ वर्षमुनिका युवा प्रतिनिधित्व गर्दै उम्मेदवारी प्रस्तुत गर्नुभएका बानियाँ युवा व्यवसायी, समाजसेवी तथा विभिन्न सामाजिक संघसंस्था र क्लबहरूमा समेत आबद्ध रहँदै आउनुभएको छ। उहाँले युवाको भूमिका केवल संगठनमा उपस्थित हुनेमा सीमित नरही नीति निर्माण, नेतृत्व विकास, प्रविधि, उद्यमशीलता तथा समाज निर्माणका क्षेत्रमा प्रभावकारी सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले कास्की क्षेत्र नं. १ का अग्रज नेतृत्व, क्षेत्रीय प्रतिनिधि, युवा साथी तथा सम्पूर्ण कांग्रेसजनसँग निरन्तर संवाद, सहकार्य र सुझावको अपेक्षा राख्दै आफ्नो उम्मेदवारीलाई सफल बनाउन सहयोग र समर्थनको आग्रह गर्नुभएको छ।
युवाको ऊर्जा, अग्रजको अनुभव र संगठनप्रतिको जिम्मेवारीलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बानियाँले महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

