पोखरा, असोज १४ । नेपाली कांग्रेसका युवा नेता शुसिल बास्तोला कास्की क्षेत्र नं. २ (ख) को सचिव पदमा निर्वाचित हुनुभएको छ।
हालै सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशनबाट बास्तोला सचिव पदमा निर्वाचित हुनुभएको हो। लामो समयदेखि पार्टी संगठन निर्माण, जनप्रतिनिधिको जिम्मेवारी तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका बास्तोला युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ।

उहाँले नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ वडा कार्यसमितिको सचिवका रूपमा संगठन विस्तार र पार्टी गतिविधिलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. ११ को वडा सदस्य तथा जनप्रतिनिधिका रूपमा स्थानीय विकास, जनसेवा र नागरिकका समस्या समाधानमा सक्रिय रहँदै आउनुभएको छ।

स्थानीय स्तरमा जनताको विश्वास जित्न सफल बास्तोलालाई युवाहरूले भरोसायोग्य नेतृत्वका रूपमा हेर्ने गरेका छन्। बुद्धिजीवी वर्गले उहाँलाई आशालाग्दो राजनीतिक व्यक्तित्वका रूपमा लिने गरेका छन् भने बालबालिका र अभिभावकमाझ पनि उहाँको सामाजिक सक्रियताको सकारात्मक चर्चा हुने गरेको छ।
सचिव पदमा निर्वाचित भएपछि बास्तोलाले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा संगठन सुदृढीकरणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






