✍️ अजय क्षेत्री
“माटोको सुधार : परीक्षण, रेखदेख र उपचार” भन्ने नाराका साथ ११ औं विश्व माटो दिवस पोखरामा विशेष कार्यक्रम गरी मनाइएको छ। गण्डकी प्रदेश सरकारको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय र माटो तथा मल परीक्षण प्रयोगशालाको आयोजनामा भएको कार्यक्रममा माटोको महत्व र संरक्षणका विषयमा चर्चा गरियो।
मन्त्रालयका सचिव टंक प्रसाद प्रसाइले कृषि उत्पादनमा माटोको गुणस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै माटोको सुरक्षा र सही उपचार गर्नुपर्नेमा जोड दिए। उनले भविष्यका पुस्तालाई स्वस्थ माटो हस्तान्तरण गर्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताए।
कार्यक्रममा प्रयोगशाला प्रमुख सुनिल पाण्डेले माटो दिवसको सुरुवात, यसको महत्व, र माटोका विशेषताबारे जानकारी गराएका थिए। वक्ताहरूले माटोको उत्पादकत्व ह्रास हुनु गम्भीर चुनौती रहेको भन्दै यसलाई रोक्न सबै तहबाट प्रयास आवश्यक रहेको धारणा राखे।
निबन्ध प्रतियोगितामा उत्कृष्टता
माटो दिवसकै अवसरमा आयोजित निबन्ध प्रतियोगितामा अमरसिंह माविका प्रान्जल पौडेल प्रथम भएका छन्। अन्नपूर्ण माविका विमल विक दोस्रो, पोखरा चिसाखोला वेद विद्याश्रमका अपिल अधिकारी तेस्रो, र बिन्धेश्वरी माविकी सोनिया अधिकारीले सान्त्वना स्थान हासिल गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथिहरूले विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै उनीहरूको प्रतिभाको प्रशंसा गरे।
कार्यक्रमले माटोको संरक्षण, परीक्षण, र सुधारको महत्वलाई जनचेतनामा ल्याउन योगदान पुर्याएको आयोजकले विश्वास व्यक्त गरेका छन्।