Monday, November 23, 2026

आजको मिति: २०८३ मंसिर ८ ,सोमबार

  Latest
मत दिन पाइनँ, तर विश्वास अडिग छ’ :
Next
Prev

स्वर्गजस्तो देश छाड्न बाध्य वडाध्यक्ष: ‘रहरले होइन, परिस्थितिले परदेशिएको हुँ’

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा (कास्की) । देशको विद्यमान राजनीतिक अस्थिरता, बेथिति र निराशाजनक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै कास्कीको मादी गाउँपालिका वडा नं. २ (ताङतिङ) का निर्वाचित वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भोजबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । जनप्रतिनिधिको पद त्याग गर्दै उनले वैदेशिक रोजगारीका लागि हङकङको बाटो रोजेका हुन् ।



​नेपाली कांग्रेसको तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भएका गुरुङले सामाजिक सञ्जालमा एक अत्यन्तै भावुक र मर्मस्पर्शी सन्देश लेख्दै देश छाड्नुको पीडा सार्वजनिक गरेका छन् । उनले नेपालको वर्तमान राजनीतिप्रति कटाक्ष गर्दै लेखेका छन्, “खासमा नेपालको पिलो कहाँनेर छ र भन्या ? जहिल्यै अशान्ति मात्र । स्वर्गजस्तो हाम्रो देश स्वदेश अनि बिरानो भएर विदेश ! कस्तो खेल हो जिन्दगी ?”



​उनले शीर्ष नेताहरूको सत्तामोह र आफ्नो बाध्यतालाई तुलना गर्दै गहिरो पीडा पोखेका छन् । कोही नेताहरू पदबाट राजीनामा दिएर सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने खेलमा लागिरहेको तर आफू भने रहरले नभई बाध्यताले परदेशिनु परेको उनको गुनासो छ । चाडपर्वले आँगनमा पाइला टेकिसकेको बेला मन भारी बनाउँदै जीवनको आधाआधी उमेरमा दौँतरी, आफन्त र गाउँले परिवारजनलाई छाडेर हङकङ प्रस्थान गर्नुपर्दाको पीडा उनले शब्दमा उतारेका छन् ।



​हङकङ उड्नुअघि भोजबहादुर गुरुङले आफू कमजोर भएर वा भागेर नभई परिस्थितिसँग जुध्न बाध्य भएर परदेशिएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “ऊ रित्तिएर गए, ऊ हराएर गए, ऊ मासिएर गए, ऊ पेलिएर गए… तर ऊ कराउन नसकिएर गए नभनिदिनु है।” साथै, उनले आफ्ना मतदाता, गाउँले र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गर्दै, “तपाईँहरूले मप्रति लगाएको गुण कहिल्यै बिर्सनेछैन । म ऋणी छु, क्षमा गरिदिनुहोला,” भन्दै भावुक बिदाइ मागेका छन् ।



​लामो राजनीतिक इतिहास र जनसेवामा योगदान
नेपाली कांग्रेसको राजनीतिमा भोजबहादुर गुरुङको निकै लामो र संघर्षपूर्ण इतिहास रहेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएका उनले पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । लामो समयदेखि नेपाली कांग्रेसमा समर्पित रहेर संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।



​२०७९ सालको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका गुरुङले ताङतिङ र समग्र वडाको विकास निर्माण, पर्यटन प्रवर्द्धन तथा जनसेवामा निकै प्रशंसनीय काम गरेका थिए । स्थानीय स्तरमा भिजेका, मिलनसार र जनताको सुखदुःखमा सधैँ साथ दिने लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका गुरुङ कार्यकाल बाँकी छँदै देशको अवस्थाप्रति निराश भएर हङकङ पलायन हुनुलाई स्थानीयवासीले निकै दुःखद र चिन्ताजनक घटनाका रूपमा लिएका छन् ।



​एक इमानदार, समर्पित र काम गर्ने जनप्रतिनिधि तथा गाउँपालिकाका प्रवक्ता नै देशमा बस्ने वातावरण नदेखेर विदेशिनु पर्दा स्थानीय राजनीति, गाउँपालिकाको सूचना प्रवाह र गाउँको विकासमा समेत ठुलो क्षति पुगेको स्थानीय बुद्धिजीवी तथा वडावासीहरूको भनाइ छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist